नेपाली महिलाहरु साउने सोमबारमा किन ब्रत बस्छन् ? कारण यस्तो छ…….

काठमान्डौँ । साउन महिनामा भगवान शिवको पूजा गर्दै सोमबार व्रत बस्ने प्रचलन छ । भगवान शिवको अर्को नाम भीम अर्थात सोम पनि हो । शिवको साउन महिनामा घोर अर्थात डरलाग्दो स्वरूप हुन्छ । धर्म तथा संस्कृतिविद्हरुका अनुसार साउन महिना धेरै पानी पर्ने, बाढी पहिरो आएर समाजमा प्राकृतिकरूपमा घटना नहोस् भनेर भगवान शिवको पूजा गरिन्छ ।

पहिलो पटक व्रत बस्न सुरु गर्नका लागि पाँचवटा सोमबार हुँदा सुरु गरिनु शुभ हुने विश्वास गरिन्छ । सोमबार व्रत बस्दा मनले चिताएको कुरा पुग्ने जनविश्वास रहिआएको छ । सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति पाउने र विवाहिताहरूले श्रीमानको दीर्घायु तथा खुसी पाउने जनविश्वास रहिआएको छ । महिनालाई अझै भनौँ सोमबारको व्रतलाई विशेष तरिकाले उत्सवका रूपमा मनाउन थालेका छन् ।

साउन महिनामा व्रत बस्दा हरियो, पहेँलो र रातो रङ्गका बस्त्र, चुरा र मेहन्दी लगाउँदा भगवान शिवजी खुसी भई मनोकामना पूरा गरिदिने र श्रीमानको आयु लामो हुने जनविश्वास छ । कतिपय महिला तथा पुरुषहरू साउन महिनाभरि मासु नखाई बस्छन् । व्रत बस्ने महिलाहरू महिनाभरि चोखो खाने कुरा खाएर बस्छन् । व्रत नबस्ने महिलाहरु पनि हरियो, पहेँलो चुरा र मेहन्दी लगाउँछन् ।

साउन महिना लाग्न नपाउँदै धेरैजसो महिलाहरु हरियो चुरा, हरियो पोशाक तथा मेहंन्दी लगाउन सुरु गर्दछन् । अन्य समयमा यस्ता सामाग्रीहरु लगाउन खासै महत्व नदिनेहरु पनि साउन महिनामा भने विषेश महत्वका साथ हरियो चुरा, मेहन्दी तथा पहिरन लगाउन चासो देखाउने गरेको देखिन्छ । यस महिनामा हरियो वस्त्र वर्षहरुमा बढ्दै जान थालेको हो । त्यसैले पनि महिलाहरु हरियो चुरा, मेहंदी तथा हरिया वस्त्र किन लगाइएको भन्ने विषयमा फरक फरक तरिकाले विश्लेषण गर्दछन् । कोहि पतिको दीर्घायुसँग जोड्ने गर्दछन् भने कोहि सन्तानको सुखद भविष्य सँगपनि यसलाई जोड्ने गर्दछन् ।

पौराणिक कथा अनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिना भरि निराहार रही कठोर ब्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकी हुनाले यो महिनालाई भगवान शिवलाई मन पर्ने महिनाको रुपमा पनि लिइन्छ । श्रावण महिनामा भगवान् शिवको पूजा गरी ॐ नमः शिवायः को जप गर्नाले उनी प्रसन्न हुने जनविश्वास छ । अराध्यदेव महादेव खुसी हुने, सदा कृपा बनाईराख्ने र परिवारको कल्याण हुने विश्वास रहेको छ ।

त्यसैले श्रावणको सोमबारलाई विषेश बारका रुपमा लिइन्छ । श्रावणको सोमबार नेपालको लाखौं तीर्थयात्रु भारतको बैद्यनाथ धार्मिक स्थलमा भ्रमणका लागी जाने गरेका छन् । त्यस्तै विभिन्न मन्दिरहरुमा शिवका भक्तहरु बोलबम जाने प्रचलन पनि छ । श्रावण महिनामा शिवको आराधना, पुजा, ब्रत गर्नाले मृत्युमाथि पनि विजय प्राप्त गर्न सकिने र महिलाहरु सौभाग्यवती हुने विश्वासले पनि शिवालयमा दर्शनका लागी पुग्ने गरेका छन् ।

सम्बन्धित समाचार