फेरि लकडाउन हुने हो कि !

१६ साउन, चितवन । सरकारले साउन १५ गतेदेखि पर्यटन र होटल क्षेत्र सुरक्षा सर्तकता र सावधानी अपनाएर खोल्ने निर्णय गरेपछि चितवनको सौराहाका होटल सञ्चालनमा आए । तर, चितवनकै पर्यटकीय गन्तव्य पटिहानी र मेघौलीका ठुला होटल भने सञ्चालनमा आएका छैनन् ।

मध्य बर्खाको सिजन तत्कालै पर्यटक आउने सम्भावना कम भएकाले हतारमा होटल खोल्नुनपर्ने सञ्चालकहरु बताउँछन् । पटिहानीको होटल भिल्लाका सञ्चालक सविन पौडेलले भदौ १ गतेदेखि खोल्ने मनस्थिति रहेको बताए ।तत्कालै फुल फ्लेजमा चलाउने अवस्था छैन, मेन्टिनेन्स गर्ने र दशैं तिहारपछि पूर्ण रूपमा चलाउन सकिन्छ कि भन्ने आशा छ’ सञ्चालक पौडेलले भने, ‘कोरोनाको जोखिम फेरि बढ्ने अवस्था देखिएको छ, समुदायमा फैलिन थाले त के होटल चलाउने अवस्था आउला र ?’

पटिहानीमा साना होटल आंशिक रुपमा खुलेका छन् । यहाँका कतिपय होटल सौराहा आउने पर्यटकको आधारमा मात्रै खोल्ने वा नखोल्ने निर्णय गर्ने मनस्थितिमा छन् । ‘पटिहानीका ठूला होटल वेट एण्ड सीको अवस्थामा छन्, तत्कालै चलाउने सुरसार देखिदैन’ पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले भने, ‘फेरि बन्द गर्नुपर्ने अवस्था आए किन चलाउने भन्ने पनि छ ।’

थपलियाकै भनाइमा सहमत छन्, कसरा रिसोर्टका म्यानेजर लोक कुँवर पनि । ‘लकडाउन फेरि हुने अवस्था पनि छ, त्रास थपिँदै गएको छ’ उनले भने, ‘समुदायमा कोरोना गएको देखिँदा झनै डर बढेको अवस्था छ ।’

कुँवरले साधारण परिस्थिति रहे सेप्टेम्बर १ (भदौ १६) बाट खोल्ने तयारी गरिएको बताए । रिसोर्टमा कार्यरत ६५ मध्ये १२ जनालाई बोलाएर नियमित गर्नुपर्ने काम गरिएको उनले जानकारी दिए ।

पटिहानीमा होटल जंगल भिल्ला, कसरा रिसोर्ट, इन टु दी वाइल्ड इको रिसोर्ट, नारायणी सफारीलगायतका ठूला होटल छन् । रिभर बैंक जंगल रिसोर्ट र पटिहानी रिसोर्ट निर्माणाधीन ठूला होटल हुन् ।

सम्बन्धित समाचार