श्रीमानलाई देखाउनकै लागि भएपनी अर्को बिहे गर्न चाहन्छु

यो दुख हो आफ्नै श्रीमानबाट धोक खाएकी एक चेलीको । म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालय   मा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती हाम्रा दुई छोराछोरी सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो ।

घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो । एक दिन मेरो श्रीमानले केके सुनेर आउनुभयो, अनायस नै राती इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त मेरा श्रीमानले सँधैँजसो केही न केही इजरायलका बारेमा नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न थाल्नुभयो । एक दिन मैले झर्को मान्दै भने हामीलाई के काम इजरायलको गफ ।

न जाने गाउँको बाटै नसोध्नू भन्छन । किन र तिमी पनि जाऊ न इजरायल । अब त केटाकेटी पनि ठूला हुँदै गए भोलि उनीहरूको उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ तन्किने होइन बरु म यहाँ केटाकेटी स्याहारेर बस्छु तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत अलि उकासौँ । किन नजाने गाउँको बाटै नसोध्नू भन्छ्यौ । हामीले कहिले आफ्नो घर बनाउने । सधैँ यही तीन कोठामा जिन्दगी बिताउने ।

भोलिका दिनमा छोराछोरीको बिहे पनि त गर्नुपर्छ । सोच न १ श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाव बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुप¥यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर मेरा श्रीमान्ले मलाई इजरायल जाने सबै व्यवस्था मिलाई दिनुभयो ।सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी जुन बेला अभिभावकको बढी आवश्यकता हुन्छ त्यो बेलामा ती नाबालक छोराछोरी सासूससुराको जिम्मा लगाई म हिँडेँ इजरायल । इजरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा हुन्थ्यो परिवारसित ।

कहिल्यै श्रीमान् र छोराछोरीबाट टाढा नभएकी म एक्कासी सात समुन्द्र पारि पुगेकी थिएँ । मनलाई सम्झाउन सारै गाह्रो भइरहेको थियो । मलाई इजरायलमा एड्जस्ट हुन ज्यादै गाह्रो भयो । नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । नाम मात्र अङ्ग्रेजी केयर गिभर पाएर के भयो र । आखिर त्यहाँ म घरकी नोकर्नी नै थिएँ शुरुशुरुमा त कति रोएँ, कराएँ नेपाल सम्झेर तर के गर्नु सबै भताभुङ्ग बनाएर म त्यता पसेकी थिएँ ।

फर्केर फेरि के गर्ने । श्रीमान्मा मैले धेरै पैसा कमाउने र त्यो पैसाले केके गर्ने भन्ने योजनाहरू म त्यहाँ पुगेको एक हप्ता पनि नबित्दै शुरु भैसकेको थियो । मेरो तलब आएकै दिनदेखि म सबै पैसा श्रीमान्लाई पठाइदिन्थेँ । मलाई खान बस्न पैसा खर्च नहुने एक दिन पाउने बिदामा पनि काम गरिदिए अतिरिक्त आम्दानी हुने हुनाले मलाई फोन गर्न अथवा सानो तिनो खर्च गर्न त्यही पैसाले पुगिहाल्थ्यो ।

महिना शुरु हुन पाउँदैन थियो कि श्रीमान्को लिस्ट आइहाल्दथ्यो । म कहिलेकाहीँ भन्ने गर्दथेँ जुन उद्देश्य लिएर म त्यहाँ पुगेकी, त्यो त पूरा गरौँ । यसरी फाल्तु खर्च किन गर्ने । तिमी तीनचार वर्ष बसिहाल्छ्यौ हाम्रा योजनाहरू पूरा गर्न पैसा त भइहाल्छ नि।।मैले अब पैसा पठाउँदा श्रीमानलाई भन्न थालिसकेकी थिएँ पैसा बचत गर्नु ल भनेर । एक दिन श्रीमानले फोनमार्फत् मलाई भन्नुभयो साथीहरूले मिलेर एउटा १०  सम्म पढाई हुने स्कूल चलाउने रे ।

हामीलाई पनि पैसा हाल्न भनेका छन् तिमी त्यहाँबाट ऋण गरेर भए पनि मलाई १० लाख पठाइ देऊ न । स्कूलमा लगानी गरेपछि त आम्दानीको राम्रो स्रोत भइहाल्दछ नि अनि त दुःखका दिन सकिन्छन् कि । मलाई पनि कुरा राम्रै लाग्यो साथीहरूसित सापट लिएर श्रीमान्लाई आठ लाख पठाइदिएँ । म उता ओभरटाइम गरीगरी साथीहरूको पैसा तिर्दै थिएँ । यता श्रीमान्को भनाइअनुसार स्कूल राम्रैसित चलिरहेको थियो ।

मलाई साथीहरूको कर्जा तिर्न दस महिना लाग्यो । ११ महिनाको तलव थापेको पनि थिइनँ श्रीमान्को फोन आयो । स्कूलको क्यन्टिनमा आफँ लगानी ग¥यो भने त अझ बढी आम्दानी हुन्छ । फेरि यताउता गरेर एकमुुष्ट पैसा पठाइ देऊ न । सबैभन्दा नजिकको स’म्बन्ध भएको श्रीमान्माथि मैले कसरी शङ्का गर्ने रु मैले होला भनेर फेरि ऋण गरेर छ लाख पठाइदिएँ । फोनबाट कुरा गर्दा छोराछोरी सासूससुरा सब खुसी नै भएको मैले महसुस गरेकी थिएँ ।

स्कूल खोलेर राम्रो भएको सबैबाट सुन्दै आएकीले म पनि खुसी नै थिएँ । जे होस् अब त नेपाल फर्किएपछि त आफ्नै स्कूल । त्यो दिन फागुपूर्णिमा थियो, छोराले फोनमा र रुँदै भन्यो मामू बुबाले बर्बाद गर्नुभो । के भयो किन रोएको के गर्नु भो बुबाले मैले आतालिँदै सोधेँ । फोनमा छोरीको पनि आवाज आयो । मामू बुबाले त अर्को बिहे गर्नुभएको रहेछ । आज रक्सी खाएर एउटा सानो बच्चालाई लिएर आउनुभएको थियो ।

हजुरबुबा हजुरआमालाई हजुरहरूको नाति भनेर भन्नुभयो । हामीलाई तिमीहरूको भाइ हो भन्नुभयो । हजुरआमाले रिसाउँदै हकारेपछि बुबाले भन्नुभयो बिहे गरेको नै २ वर्ष भैसक्यो । मामूले थाहा नपाउनुहोस् भनेर नै बुबाले इजरायल पठाउनुभएको रे । म छाँगाबाट खसेँ । विगतका सबै दिनहरू आँखाअगाडि नाच्न थाले । ओहो, आज आएर सम्झँदै छु, त्यो समयमा तिमीमा एकाएक आएको परिवर्तन नियाल्दै छु ।

कसरी मलाई इजरायल पठायौ कसरी सबै पैसा लियौ । मैले सासूसित कुरा गरेँ सासूले पनि हो भन्नुभयो । त्यस पछि त झनै चिन्तित भएँ छोराछोरी कति रोए होलान् । श्रीमान्लाई फोन गर्छु फोन स्वीचअफ छ । बल्ल चार दिनपछि राती श्रीमान्को फोन उठ्यो तर महिलाले फोन उठाइन् । मैले तपाईंं को भनेर सोधेँ । उनले भनिन् म दिनेशको श्रीमती । मैले दिनेशको श्रीमती त म पो हुँ तिमी को हौ दिनेश खोइ ? भन्नासाथ फोन काटिदिइन् । घरमा छोराछोरी मात्र थिए ।

सासूससुरासित पहिल्यै छुट्टिइसकेकाले केटाकेटी आफैँ पकाउँदै खाँदै गर्दा रहेछन् ।म इजरायलबाट तुरुन्त आउन सक्ने अवस्थामा पनि थिइनँ । मेरो टाउकामा कर्जा थियो । नेपाल आएर के गर्ने मैले माइतीमा फोनगरेर भाइसित रोएँ । भाइलाई स्कूलमा लगानी के कति छ बुझ भनेपछि उसले के कसरी बुझ्यो मैले पठाएको पैसा त स्कूलमै लगानी त भएको रहेछ तर शेयर होल्डर त कान्छी श्रीमती पो भएकी रहिछ ।

क्यान्टिन पनि उसैले पो चलाएकी रहिछे । उसले एउटा डान्स रेष्टुरेन्टमा नाच्ने केटी पो ल्याएको रहेछ । मेरो पैसाले कान्छीको नाममा शेयर किनिदिएछ । अनपढलाई फेरि नाच्न त पठाउनु भएन भनेर होला क्यान्टिन खोलिदिएको । जे होस् म र मेरो छोराछोरी त बर्बाद भएका थियौँ । छोराछोरीलाई सम्झाएँ । पढाइमा मन लगाऊ भनेर तर उनीहरूको पढाइ के भयो होला रु मैले जतिसक्दो चाँडो कर्जा तिरेर नेपाल फर्किने विचार भाइलाई भनेँ ।

भाइले भन्यो दिदी हामी भान्जाभान्जीलाई हामीकहाँ ल्याएर राख्छौँ तिमी भोलिको दिनलाई पनि केही व्यवस्था गरेर मात्र फर्क । दिन बित्दै गए । कर्जा पनि तिरियो म घर फर्कन्छु भन्दै थिएँ । कि छोराले फोनमा भन्यो तिमीहरू मामाघर गएर बस म र सानीआमा यहाँ बस्छौ भनेर बुबालेभन्नुभयो हामीले मानेनौँ। अब त्यो घर पनि गयो भने त बस्ने बास पनि हुँदैन भनेर मैले छोराछोरीलाई मामाघर पनि नजाओ कोठा नछोड भनेँ ।

यसैबीचमा छोरीले एस एल सी पास गरिन् । मलाई ज्यादा पीर छोराको थियो कुलतमा लाग्ने पो हो कि भन्ने । मेरो त सब बर्बाद भैसकेको थियो । मलाई आफूलाई सम्हाल्न गाह्रो भैरहेको थियो । विवाह गरेको दिनदेखि अहिलसम्म मेरा श्रीमान्ले मलाई गरेको माया मसित सरसल्लाह भावी योजना सबै मेरा सामु सिनेमाझैँ नाचिरहेका थिए । म इजरायल आएको चार वर्ष भयो छोराछोरी दुवै कलेजमा पढ्दैछन् । घरमा बाबु र सानीआमालाई आउन दिएनन् ।

छोरीको फोन आयो उनले भनिन् मामू आएर मेरो विवाह गरिदिनू न । आपूसँगै पढ्ने पोखरा घर भएको केटासित उनी विवाह गर्ने रे । म दशैँमा घर आएर नवमीको दिन छोरीको विवाह गरिदिएँ । बाबु आए कान्छी श्रीमतीलाई त ल्याएका थिएनन् तर छोरो साथै थियो । हाम्रो बोलचाल पनि भएन । छोरी घर गई छोरो पनि इन्डिया पढ्न जान्छु भन्दैछ। भोलि उसको पनि विवाह होला ।

त्यसपछि मेरो साथमा को त । छोराछोरी, श्रीमान् सब पर । एक मन भन्छ समय अनुसार चल्नुपर्ने मान्छेको नियती हो । जिन्दगी एकपल्ट मिल्छ एउटा असल व्यक्तिसित विवाह गरूँ कि ! जब श्रीमान्को जरुरत बढी पर्छ भन्ने सोच पनि पलाउछ बेलाबेलामा । त्यो बेला मलाई श्रीमानले धोका दिएको थियो भने मैले उसको नाम लिएर किन बस्ने ।

तर समस्या केटालाई केटी फकाउन सजिलो हुन्छ होला र ।  दोस्रो विवाह सजिलै गर्छन् तर म कसलाई भनूँ मसित विवाह गर्छौ भनेर । के भन्ने । एक जना सासूलाई नयाँ श्रीमान् चाहियो । मलाई धोका दिने श्रीमानलाई देखाउनलाई भए पनि म अर्को विवाह गर्न चाहन्छु । यो लेख हामीले सामाजिक सञ्जालबाट लिएका हौं ।

सम्बन्धित समाचार