आज लक्ष्मीपूजा, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै !

काठमाडौं – आज यमपञ्चकको तेस्रो दिन लक्ष्मी पूजा । आज कार्तिक कृष्ण औँसी, कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ। इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर आज बिहानदेखी कुकुर तिहार मनाइँदैछ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ । त्यस्तै आज लक्ष्मी पूजा पनि मनाइदैछ ।

आज घरमा सफासुग्घर र लिपपोत गरी साँझ नै ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी मनाइदैछ । आज घरमा गाईको गोबरले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

आज खासमा घरका झ्याल, ढोका,कोठा, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरिन्छ । आज साझँ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबरले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ ।

पाइलाहरुमा दीप प्रज्वलन गरीन्छ र झिलीमिली बनाइन्छ। पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई लक्ष्मीको पूजा गरिन्छ ।

सम्बन्धित समाचार